Market Closed

लघुवित्त कम्पनीहरु धमाधम मर्जमा, कसको कुनसँग भयो सम्झौता ?

17 Sep,2020
  • merger_new_9_17_2020_8_51_49.jpg
इशारा कोइराला 
 
काठमाडौं : पछिल्लो समय लघुवित्त कम्पनीहरु धमाधम मर्जर तथा एक्विजिसनमा जान थालेका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई मर्जरमा जान प्रोत्साहन गरेसँगै कम्पनीहरुबीच एकआपसमा सहकार्य गर्र्ने लहर चलेको हो । लघुवित्त कम्पनीहरुलाई सकेसम्म हकप्रद सेयर जारी नगर्न केन्द्रीय बैंकले भन्दै आएको छ । यसर्थ, मर्ज तथा बोनस सेयरमार्फत पुँजी वृद्धिको तयारीमा लघुवित्त कम्पनीहरु लागेको देखिन्छ ।

पुँजी आधारसहित संस्थालाई थप सबल पार्न पनि मर्जर तथा एक्विजिसन प्राथमिकतामा परेको हो । केन्द्रीय बैंकले ९० वटा लघुवित्त कम्पनीहरुलाई सञ्चालन अनुमति दिएको छ । तुलनात्मकरुपमा यो संख्या धेरै भएको नियामक निकायकै भनाई छ । यतिबेला राष्ट्र बैंकले नयाँ लाइसेन्स रोकेरै लघुवित्तहरुलाई मर्जरमा जान प्रोत्साहन गर्न थालेको छ ।



केन्द्रीय बैंकको योजना अनुसार नै केही लघुवित्त कम्पनीहरु मर्जर तथा एक्विजिसन प्रक्रियामा सहभागी भइसकेका छन् । पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म १७ वटा लघुवित्त कम्पनी मर्जर तथा एक्विजिसनमा गइसकेका छन् । केही मर्जर तथा एक्विजिसनको प्रक्रियामा रहेका छन् । नयाँ तथा पुराना दुवै खालका कम्पनीहरु मर्जर प्रक्रियामा सरिक भइरहेका छन् ।

केन्द्रीय बैंकको नियम अनुसार थोक कर्जा प्रवाह गर्ने लघुवित्त कम्पनीको न्यूनतम चुक्ता पुँजी ६० करोड, राष्ट्रियस्तरका लघुवित्तको १० करोड, क्षेत्रीयस्तरको ६ करोड, ३ जिल्ले लघुवित्तको २ करोड र १ जिल्लास्तरका लघुवित्तको चुक्ता पुँजी न्यूनतम १ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।हकप्रद सेयरबाट नियामकले तोकेको चुक्ता पुँजी पुर्याउन हम्मेहम्मे पर्ने भएपछि धेरै नयाँ कम्पनीहरु साधारण सेयर (आइपीओ) नै जारी नगरिकन मर्जर तथा एक्विजिसन प्रक्रियामा अघि बढेका छन् । 
 
२४ कम्पनी अब १२ मा झर्दै
 
राष्ट्र बैंकको तथ्यांक अनुसार २० वटा लघुवित्त कम्पनीहरुले मर्जरमा जाने सैद्धान्तिक सहमति गरेका छन् । यसबाहेक पछिल्लो पटक स्वरोजगार लघुवित्तले भने जनकपुर लघुवित्तला एक्विजिसन गर्ने निर्णय गरेको छ । वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाले भर्खरै मात्र मर्जरमा जाने सहमति गरेका छन् । यसरी हेर्दा २४ लघुवित्त कम्पनीहरुको संख्या अबको केही समयमा नै १२ वटामा झर्ने देखिएको छ । यसले केन्द्रीय बैंकले लिएको मर्जर नीति पूरा हुने देखिएको छ । 
 

Post Your Comment