Market Closed

सेयर बजार : तल न माथिको अवस्थामा, तर अवसर धेरै

02 Dec,2019
  • bull-versus-bear-_12_2_2019_3_19_23.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजारको चाल सोमबार पनि सुस्त देखिएको छ । केही दिन यता बजारले निश्चित गति समाउन सकेको छैन । नेप्से सूचक माथि जान पनि सकेको छैन, तल झर्न पनि मानिरहेको छैन । जसका कारण बजार स्थिरप्रायःको अवस्थामा पुगेको हो । बजार लगातारजसो घटेकाले तल्लो विन्दुमा आएर स्थिर अवस्थामा पुगेको देखिन्छ ।

यस्तो बेला सबल वित्तीय सूचक भएका कम्पनीहरु छानीरोजी सेयर खरिद गर्ने उपयुक्त समय हुन सक्छ । कम्पनीहरुको भाउ निकै सस्तो भइसकेको छ । यसर्थ, लाभांश क्षमता, नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी लगायतका महत्वपूर्ण सूचकहरु अध्ययन गरेर रोजीरोजी सेयर किन्न सकिने सुविधा बजारले प्रदान गरिरहेको अनुभवी लगानीकर्ताहरुको भनाई रहेको छ । 
 
आम लगानीकर्ता सकारात्मक बन्न नसक्दा नेप्सेले गति लिन पाएको छैन । अर्थतन्त्रका सूचकहरु सबल बन्दैछन् । सेयर बजारका लागि आवश्यक न्यूनतम अवस्था र सूचकहरुमा पनि सुधार भइरहेको छ । पुँजी बजारमा नीतिगत, प्रविधिगत हिसाबले पनि सुधारका काम अघि बढिरहेका छन् । यति हुँदाहुँदै पनि बजारले गति लिन नसक्नुमा लगानीकर्ताको कमजोर मनोबललाई नै प्रमुख कारक मानिएको छ । 
 
विगतमा बजार घटाउन पटकपटक लगानीकर्ता तर्साउने हर्कतहरु भए । विभिन्न बाहनामा बजारबाट लगानीकर्तालाई बिच्काउने काम भयो । यसर्थ, अब पुराना तथा नयाँ लगानीकर्ता समेत आकर्षित गर्न सरकारले तत्काल मनोबल सुधारका कार्यक्रम अघि सार्न आवश्यक छ । नीतिगत सुधारका काम गरेर पनि लगानीकर्तालाई आकर्षित गर्न सकिन्छ । सेयर धितो कर्जाको सीमा वृद्धि लगायतका काम गर्न सकिने ठाउँ बाँकी छ । 
 
नेप्से सूचक सोमबार ०.८६ अंकले घटेर ११११.९९ विन्दुमा अडिएको छ । १६४ कम्पनीको २३ करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ८ लाख २६ हजार ३६८ कित्ता सेयर खरिदबिक्री भएका छन् । 
नेप्सेमा १२ वटा समूहको कारोबार भएकामा ३ समूह माथि लागेका छन् । बाँकी तल झरेका छन् ।

वाणिज्य बैंक समूह १.१३ अंकले बढेको छ । कारोबार रकममा एनएमबि बैंक अग्रस्थानमा छ । यसको १ करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेसलन माइक्रोफाइनान्सको सर्किट लागेर भाउ बढेको छ । सबैभन्दा धेरै अरुण काबेली पावरको भाउ ६.५५% ले घटेको छ । 


 

Post Your Comment