Market Closed

अल्पकालीन कारोबारी हावी हुँदा नेप्से सामान्य दबाबमा, लगानीकर्तामा घटेको छैन उत्साह

15 Dec,2019
  • bull-and-bear_12_15_2019_3_17_18.jpg
नेपाली पैसा 
 
काठमाडौं : केही दिन यता बढ्दोक्रममा रहेको नेप्से सूचकले आइतबार सामान्य दबाबको सामना गरेको छ । लगातार बढेको बजारमा नाफा बुक गर्नेहरु सक्रिय हुँदा सूचक दबाबमा परेको हो । यद्दपि, बजारमा अझै पनि खरिदकर्ता सक्रिय छन् । क्रेता र बिक्रेताहरु पर्याप्त हुँदासम्म खासै डराउनुपर्ने अवस्था रहँदैन । कारोबार रकममा उत्साह जारी छ । बजारमा आमलगानीकर्ताको मनोबल बढेको छ ।

यसले सकारात्मक बन्न सकिने अवस्था रहेको देखाउँछ । ४० महिनादेखि वियरिस प्रवृत्तिमा रहेको बजारले बल्ल सुधारको संकेत गरेको हो । कम्पनीहरुको नाफा बढ्दो क्रममा रहनु, लाभांश अनुपात क्रमशः वृद्धि हुँदै जानु अनि सूचीकृत कम्पनीहरुले नगद र बोनस सेयर मिलाएर लाभांश घोषणा गर्नु लगायत कारणले पनि सेयर बजारमा लगानीकर्ताको आकर्षण वृद्धि हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।

निरन्तर घटेको बजारमा सेयरको भाउ निकै सस्तो भइसकेको छ । यतिबेला लगानी गर्नेले सस्तो भाउमा सेयर हात पार्न सक्छन् । केही दिनयता बिमा र लघुवित्त कम्पनीहरुमा लगानीकर्ता झुम्मिए । यी दुई समूहको सेयर केही बढेपनि अरु कतिपय समूहका सेयर भाउ नबढेको अवस्था छ । यसर्थ, लगानीकर्ताले आफूलाई मन परेका समूह तथा कम्पनीहरुमा वित्तीय विश्लेषण गरेर लगानी गर्न सक्छन् । 
 
पुँजी बजारमा सुधारका कार्यक्रम अघि बढिरहेका छन् । प्रविधिमा सुधार हुँदैछ । नीतिगत सुधारका कामहरु पनि अघि बढेका छन् । उपत्यकाबाहिर पनि लगानीकर्ता थपिने क्रम जारी छ । बैंकको ब्याजदर पनि घट्दै जाने अनुमान भइरहेको छ । यी सकारात्मक परिदृश्यहरुका बीचमा बजारले क्रमशः गति समाउने विश्वास गर्न सकिन्छ । 
 
नेप्से सूचक आइतबार ४.७८ अंकले घटेर ११६७.८६ विन्दुमा अडिएको छ । १७२ कम्पनीको ६८ करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २० लाख ७२ हजार २३६ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल १२ वटा समूहको सेयर कारोबार भएको छ । जसमा ३ समूहको सूचक बढेको छ । बाँकी समूह राता भएका छन् । वाणिज्य बैंक समूहको सूचक २.८२ अंकले बढेको छ । 
 
कारोबार रकममा एनएमबि बैंकले अग्रता लिएको छ । यसको ६ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा धेरै राष्ट्रिय बिमा कम्पनीका लगानीकर्ताले १०% का दरले कमाएका छन् । सबैभन्दा धेरै स्पर्श लघुवित्तका लगानीकर्ताले ६.४% का दरले गुमाएका छन् । 
 
 
 
 
 

Post Your Comment