Market Closed

एनआरएन इन्फ्रास्टक्चरको आइपीओमा यसरी पर्यो आवेदन

31 Jul,2020
  • ipo_7_31_2020_9_00_03.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनआरएन इन्फ्रस्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आइपीओमा लगानीकर्ता झुम्मिएका छन् । पहिलो दिनमै आकर्षक आवेदन परेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यस आइपीओमा पहिलो दिन शुक्रबार दिउँसो ४ः३० बजेसम्ममा २३ लाख ८१ हजार ३८० कित्ताका लागि आवेदन परेको छ । यसमा ५० हजार १७३ जनाले आवेदन दिएका छन् । यस आधारमा पहिलो दिनमै २३ करोड ८१ लाख रुपैयाँभन्दा बढीको आवेदन परेको देखिन्छ ।



कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३३ लाख ९८ हजार ४६ कित्ता सेयर निष्कासन गरेको हो । कुल ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५% अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । यसैगरी, २% अर्थात ६७ हजार ९६१ किता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । यसबाट बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो । 
 
 लगानीकर्ताले यो सेयरमा साउन २१ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस समयभित्र सबै सेयर बिक्री नभएमा भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्ता देखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ । यसमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसका अलावा मेरोसयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ । एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी सन् २०१२ मा स्थापना भएको हो । जलविद्युत क्षेत्रका माध्यमबाट नेपालको राष्ट्रिय विकासमा योगदान पुर्याउने यस कम्पनीको उद्देश्य रहेको छ । गैरआवासीय नेपालीहरुले यो कम्पनीलाई प्रवद्र्धन गरेका छन् । 

यसको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ । कम्पनीले मथिल्लो मैलुङ खोला हाइड्रोपावर (१४.३ मेगावट), स्विट गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन (२८.१ मेगावट), मध्य तमोर हाइड्रोपावर (५४ मेगावट) र हिमालयन पावर पार्टनर (२७ मेगावट), लगायतका परियोजनामा लगानी गरेको छ ।
 
 
 
 

Post Your Comment