Market Closed

लोडसेडिङलाई इतिहास बनाउन सकेकोमा कुलमान प्रसन्न

16 Sep,2020
  • IMG_20200915_141728_9_16_2020_10_39_24.jpg
 नेपाली पैसा
 
काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई दिइएको जिम्मेवारी पूरा गरेर लोडसेडिङलाई इतिहास बनाइदिएको बताएका छन् । ४ वर्षे कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा लिने क्रममा उनले यस्तो बताएका हुन् । प्राधिकरण कर्मचारीहरुले मंगलबार औपचारिक रुपमा आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्दै घिसिङले २०७३ को लक्ष्मी पूजाको दिन लोडसेडिङ अन्त्य गरी मुलुकलाई उज्यालो बनाउने प्रस्थान विन्दु भएको बताए ।

उनले भने, लक्ष्मी पूजाको दिन हासिल भएको सफलताले हामीलाई थप हौसला प्रदान गर्यो । त्यसपछि पहिलो चरणमा राजधानीसहित मुलुकका प्रमुख सहरमा लोडसेडिङ अन्त्य गर्नतर्फ हामी केन्द्रित भयौं । अन्ततः मुलुकलाई उज्यालोतर्फ अगाडि बढाउन सफल  भयौं ।’ वैशाख २०७५ देखि औद्योगिक ग्राहकका लागि पनि लोडसेडिङ अन्त्य गरिएको छ । अब मुलुकबाट लोडसेडिङलाई इतिहासमा विलय गराइदिएको उनले बताए ।

घिसिङले चालु आर्थिक वर्षमा प्राधिकरणको नाफा ११ अर्ब भन्दा धेरै हुने अनुमान गरेको बताए । उनले प्राधिकरणप्रति जनताको विश्वास बढेको बताउँदै लोडसेडिङ अन्त्य भई चुहावट १५.२७% झारेको जानकारी दिए । ४ वर्ष अघि ३५% विद्युत भारतबाट आयात हुने गरेकोमा अब अर्को वर्षबाट आत्मनिर्भर हुने अवस्था सृजना भएको उनले जानकारी दिए । कुलमान प्राधिकरणमा कार्यकारी निर्देशकका रूपमा छिर्दा वार्षिक विद्युत् चुहावट २५.७८% थियो ।
 
उनले जिम्मेवारी सम्हालेको पहिलो आर्थिक वर्षमा प्राधिकरणले १ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको बताए । त्यसपछिका वर्षहरुमा नाफाको ग्राफ उकालो लाग्दै गएको उनको भनाई छ । दोस्रो वर्ष  २ अर्ब ८५ करोड, तेस्रो वर्ष ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भयो । चौथो वषमा नाफा बढेर ११ अर्ब ५ करोड रुपैयाँ पुगेको छ, उनले भने ।

‘कुनै बेला कर्मचारीलाई तलब खुवाउन पनि सरकारको मुख ताक्नुपर्ने अवस्थामा पुगेको प्राधिकरण अहिले सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरुमध्ये २ वर्षदेखि सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेर गौरवपूर्ण इतिहास बनाउन सफल भएको उनले बताए । चालु आर्थिक वर्षको बजेटमा प्राधिकरणको नाफा ११ अर्ब रुपैयाँ भन्दा बढी रहने प्रक्षेपण गरिएको छ ।’


 
सरकारको नीति तथा कार्यक्रम अनुसार प्राधिकरणले इतिहासमा पहिलोपटक उपभोक्ताको महशुल घटाएको उनले बताए । १० युनिटसम्म खपत गर्ने ग्राहस्थ उपभोक्तालाई इनर्जी शुल्क निःशुल्क र न्यूनतम शुल्क ३० रुपैयाँमात्र तिर्नुपर्ने व्यवस्था गरिएको कुलमानले जानकारी दिए । उनले भने, ‘समग्रमा ग्राहस्थ उपभोक्ताको महशुल करिब ८–९ % घटाइएको छ भने औद्योगिक, व्यापारिक, गैरव्यापारिक उपभोक्ताहरुलाई लाग्दै आएको डेडिकेटेड र ट्रंक लाइनको महँगो महशुल हटाइएको छ ।’
 

Post Your Comment